Panchamahalaxmi

 

 

 

श्रीपञ्चमहालक्ष्मी श्रीपीठ र त्यस स्थानको प्रारम्भिक चरणदेखिको जानकारी

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।

  "जब जब भारत वर्षमा धर्मको विनाश हुन थाल्दछ, अनि मैले धर्म सँस्थापनाका लागि अवतार लिन्छु" यो भगवान् श्रीकृष्णले गीतामा आज्ञा गर्नुभएको वचन हो । कलियुगमा परम वैदिक सनातन धर्मको संरक्षण सम्वर्धन र जनकल्याण हेतु विभिन्न साधु-सन्त महात्माको रूपमा अवतार लिनुहुन्छ र धर्मको संरक्षण सम्वर्धन गर्नुहुन्छ । त्यस्तै यो शाली नदी र श्रीदेवनदीको संगमस्थल श्रीस्वस्थानी व्रतकथाको उद्गमस्थल छायाँवस्ती छालिङ -९, श्रीवन भकतपुरमा विश्वकै पहिलो  श्रीपन्चमहालक्षमीको मन्दिर निर्माण भएको छ भने त्यसै स्थानमा अर्चावतारका रूपमा शालग्राम भगवान प्रकट हुनुभएको छ । जुन कार्य अनन्तश्री बिभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथाबाबा) को महान् तपस्यबाट सफल भएको छ ।

 

 

 श्रीकृष्णा गण्डकीको तटमा शालग्रामहरू विच यस धराधाममा आविर्भाव हुनुभएका नेपाली माटोका तीर्थस्थलहरूलाई माया गर्ने राष्ट्र र राष्ट्रिय सँस्कृतिका उपासक श्रीपन्चमहालक्ष्मीका आराधक श्रीमुक्तिक्षेत्र श्रीकृष्णागण्डकी, श्रीशालग्राम भगवानका प्रचारक, नेपाल आमाका वरदपुत्र श्रीमुक्तिनाथबाबाले अखिलकोटि ब्रह्माण्डनायक सर्वेश्वर परमेश्वरको दिव्य अनपायिनी पुरुष्कारस्वरूपा जगज्जननी ममतामयी श्रीपन्चमहालक्ष्मी (श्रीमहालक्ष्मी, सम्पल्लक्ष्मी, श्रीभोगलक्ष्मी, ज्ञानलक्ष्मी, मोक्षलक्ष्मी ) का अनन्य उपासक  श्रीस्वामीज्यू हुनुहुन्छ ।

 

 

श्रीपन्चमहालक्ष्मीका कृपा विना सुन्दर मनुष्य जीवन सफल नहुने बताउने श्रीस्वामीज्यू श्रीपन्चमहालक्ष्मीज्यूका अन्तर्प्रेरणाबाट बिभिन्न कार्यक्रम यज्ञानुष्ठानहरू सन्चालन गर्नुहुन्छ । जुन महायज्ञका माध्यमबाट लाखौं भक्तजनहरू लाभान्वित भइसकेका छन् । त्यस्तै श्रीवनमा

 

  ’ये यथा मां प्रपद्यन्ते ताँस्तथैव भजाम्यहम् ।’

- अर्थात् जसले जस्तो प्रकारले मेरो उपासना गर्दछ मैले पनि पनि उसलाई त्यसै अनुरूपको व्यवहार गर्दछु । भगवानको यस वचन अनुसार संसारमा प्राणीहरू दु:खी छन् । कोही धन नभएर दु:खी छन् भने कोही प्रशस्त धन भएर पनि प्राप्त धनको भोग गर्न नसकेर दु:खी छन् , कसैको सबै भएर पनि मनमा शान्ति छैन , यसरी जन्ममरणरूपी संसारचक्रमा रहेर अनेक प्रकारका दु:ख भोगीरहेका सम्पूर्ण प्राणीहरूले श्रीपन्चमहालक्ष्मी (श्रीमहालक्ष्मी, सम्पल्लक्ष्मी, श्रीभोगलक्ष्मी, ज्ञानलक्ष्मी, मोक्षलक्ष्मी )  को आराधना गरेर सुख प्राप्त गर्न सकून् , धन नभकाले धन प्राप्त गर्न सकून, जसले प्रशस्त धन भएर पनि भोग गर्न सकेका छैनन् तिनले भोग शक्ति प्राप्त गर्न सकोस्, जो यथार्थ ज्ञानको खोजीमा भौंतारीरहेका छन् तिनले ज्ञान प्राप्त गर्न सकून् , र जो व्यक्ति यो भवसागरबाट पार हुन चाहेका छन् तिनले पनि भवसागरबाट पार पाउन सकून् भन्ने धारणा अनुसार श्रीमुक्तिनाथबाबाले भगवानको दिव्य अन्तर्प्रेरणाबाट श्रीपन्चमहालक्ष्मीको आराधना प्रारम्भ गर्नुभएको छ । जसको आराधना गर्नाले ऐहलौकिक र पारलौकिक सबै फल प्राप्त हुँदछ । भिन्न भिन्न रूपमा श्रीपन्चमहालक्ष्मी माताको महिमा र बिशेषता निम्न अनुसार रहेको छ :-

 

  श्रीमहालक्ष्मी

  जगत्का समस्त प्राणीहरूको पालन पोषणगर्ने सबै प्रकारका सिद्धि एचं निधिहरूकी अधिष्ठत्री साक्षात् नारायणी जगज्जननी श्रीमहालक्ष्मी माताको विधिवत् पूजा आराधना गर्नाले पूर्वजन्मका अशुभ सँस्कार, एवं जीवनका विविध कष्ट, असफलता आदि नाश भई भाग्यको उदयस्वरूप नयाँ उत्साह, उमंग, जोश, जाँगर, खुशियाली, आदि सखानुभूतिहरू प्राप्त हुँदै जान्छन् । श्रीमहालक्ष्मी माताको कृपादृष्टि प्राप्त साधकका लागि सुख, शान्ति र आनन्द प्राप्तिका निमित्त श्रीसम्पल्लक्ष्मीको आराधना आवश्यक हुन्छ ।

 

  श्रीसम्पल्लक्ष्मी

  जगतको समस्त धनसम्पदाकी अधिष्ठात्री देवी श्रीसम्पल्लक्ष्मी हुनुहुन्छ । श्रीसम्पल्लक्ष्मको विधिवत् पूजा आराधना गर्नाले प्रशस्त धन-सम्पत्ति प्राप्त हुन्छ, प्राप्त लक्ष्मी स्थिर हुनुका साथै जीवनमा जीवनमा कुनै पनि प्रकारका वस्तुहरूको अभाव रहँदैन । श्रीसम्पल्लक्ष्मीको सम्मान गर्दै प्राप्त श्रीसम्पत्तीको सदुपयोग गरे मात्र श्रीभोगलक्ष्मीको कृपादृष्टि प्राप्त हुँदछ ।

 

 

  श्रीभोगलक्ष्मी

 

  श्रीसम्पल्लक्ष्मीका कृपाबाट प्राप्त सम्पत्तिको सदुपयोग गर्ने शक्ति, तुष्टि-पुष्टि, आयु-आरोग्य, स्थिर सुख र श्रीसमृद्धिका अधिष्ठत्री देवी श्रीभोगलक्ष्मी हुनुहुन्छ । अथाह श्रीसम्पत्तिको प्राप्ति भएपनि यदि भोगलक्ष्मीको कृपा भएन भने शारीरिक, मानसिक अस्वस्थताका कारण त्यस सम्पत्तिको सदुपयोग र सदुपभोग गर्न नसकिने हुँदा श्रीभोगलक्ष्मीको आराधना अपरिहार्य छ । श्रीभोगलक्ष्मी माताको कृपाबाट आयु आरोग्यपूर्ण जीवनको  पूर्ण सफलताका लागि श्रीज्ञानलक्ष्मी माताको आराधना अत्यन्तै आवश्यक मानिएको छ ।

 

  श्रीज्ञानलक्ष्मी

  भौतिक , दैविक एवं आध्यात्मिक विद्या कला, कौशल बुद्धि, विवेक आदि समस्त ज्ञानकि अधिष्ठात्री देवी श्रीज्ञानलक्ष्मी माता हुनुहुन्छ । ’ऋते ज्ञानान्नमुक्ति:’ यस वचन अनुसार सांसारिक दु:ख जन्जालबाट छुटकारा पाउनका लागि र सांसारिक, व्यवहारिक, पारमार्थिक ज्ञानका लागि पनि श्रीज्ञानलक्ष्मी माताको आराधना अपरिहार्य छ । " न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।" श्रीमद्भगवद्गीताको भगवानको यस श्रीवचन अनुसार संसारकै अति पवित्र वस्तु ज्ञान हो । ज्ञानकी अधिष्ठात्री देवी श्रीज्ञानलक्ष्मीको उपासनावाट धर्म, अर्थ, काम, मोक्ष चतुर्विध पुरुषार्थको यथार्थ ज्ञान प्राप्त हुन्छ । भौतिक एवं आध्यात्मिक ज्ञानले परिपूर्ण व्यक्तिका लागि जीवनको अन्तिम पुरुषार्थ मोक्ष प्राप्तिका निमित्त श्रीमोक्षलक्ष्मी माताको आराधना परम आवश्यक हुन्छ ।

 

  श्रीमोक्षलक्ष्मी

  समस्त जीवहरूको कल्याणका लागि दयाद्रचित्त भएकी ममतामयी वात्सल्यमयी आफ्ना सन्तति जीवात्माहरुलाई मोक्षपद (वैकुण्ठवास) भगवत्सन्निधि प्राप्त गराउने उपायस्वरूप श्रीमोक्षलक्ष्मी माता हुनुहुन्छ । श्रीमोक्षलक्ष्मीमाताको सेवा आराधनाबाट यस लोक र परलोकमा असीम आनन्द प्राप्त हुन्छ । "पुनरपि जननं पुनरपि मरणं" यस वचन अनुसार जन्ममरणरूपी संसारचक्रबाट सदाका लागि छुटकारा पाएर धर्म, अर्थ, काम, मोक्षरूप जीवनका चार पुरुषार्थ मध्ये अन्तिम सर्वोतकृष्ट पुरुषार्थ मोक्षपद प्राप्त हुन्छ । "यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम" गीताचार्य भगवानको यस श्रीवचन अनुसार जहाँ पुगेर भगवानलाई प्राप्त गरेपछि जीवात्माले अनन्त आनन्द प्राप्त गर्दछ र त्यसले पुन: यस संसारमा फर्कनु पर्दैन ।

 

  यस्ता वैभवले युक्त श्रीपञ्चमहालक्ष्मी सहित श्रीमुक्तिनाथ भगवानको आराधना गर्नाले संसारका आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनै प्रकारका दु:खको नाश भई अनन्त सुख शान्ति र ऐश्वर्य प्राप्त हुन्छ ।

 

  श्रीमुक्तिनाथबाबाका सदिच्छा अनुसार सम्पूर्ण प्राणीहरूले श्रीपञ्चमहालक्ष्मीको आराधना गरेर अनन्त सुख शान्ति र ऐश्वर्य प्राप्त गरून्, नेपाल राष्ट्र श्री-समृद्धि र ऐश्वर्यले सु-सम्पन्न होस् भन्ने ध्येयले नेपालको भक्तपुर जिल्ला स्थित छालिङ गा.वि.स. वडा नं. ९ मा विश्वमा नै पहिलो श्रीपञ्चमहालक्ष्मीको बृहद् श्रीमन्दिर निर्माण गरी गत २०६८ साल बैशाख २६ गतेदेखि जेठ २ गते सम्म  श्रीरङ्गमन्दिर श्रीवृन्दावनका विश्वप्रसिद्ध धर्माचार्य उभयवेदान्तप्रवर्तकाचार्य अनन्तश्रीविभूषित श्रीगोवर्धनपीठाधीश्वर श्रीगोवर्धन रङ्गाचार्य स्वामीज्यू महाराजको गरिमामय सत्सान्निध्य र अन्य विशिष्ट विद्वान्, सन्त, महन्थ, मठाधीश, पीठाधीशहरूको समुपस्थिति र  दक्षिण भारतका विशिष्ट विद्वान् आचार्यहरूको आचार्यत्वमा वैदिक विधिपूर्वक विशेष शास्त्रीय पद्धतिबाट दिव्य प्राण प्रतिष्ठा कार्य सु-सम्पन्न भई पाञ्चरात्र आगम अनुसार सेवा आराधना कार्य सञ्चालन भईरहेको छ ।

 

 

 

 

 


Swami Kamalnayanacharya
Shree Ji Maharaj
(Shree Muktinath Peethadhish)

Born: 24 May 1966 (1966-05-24)
Baglung, Nepal

Titles/honours: Ananta Shree Vibhushit
Peethadhish of Muktinath Temple
Akhandajyoti Baba Anantashree.

Guru : Swami Shadacharya